वर्षा र बदलीसँगै देशभर चिसो बढेको छ । चार दिन अघिसम्म देशका धेरै ठाउँमा गर्मी बढेको थियो । तराईमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । तर अस्ति बुधवारदेखि मौसम बदली भएर पानी पर्न थालेपछि अधिकतम तापक्रम घटेर चिसो भएको छ ।
पूर्वको विराटनगर, धरान, जनकपुरलगायतका तराईका ठाउँमा अधिकतम तापक्रम २६ देखि २७ डिग्री सेल्सियसम्म मात्रै पुगेको छ । गएकाे मङ्गलवारसम्म यी ठाउँको तापक्रम ३१ डिग्री सेल्सियसभन्दा माथि थियो । पश्चिम तराईमा पनि अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम छ । पहाडी भेगको अधिकतम तापक्रम घटेर १२ देखि २० डिग्री सेल्सियसम्म मात्रै पुगेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम २३ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । दिउँसो तापक्रम बढे पनि बिहान र बेलुका भने चिसो छ । पर्सि आइतवारसम्मै बदली र वर्षाको सम्भावना भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको मौसमविद गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ । हिजो र अस्ति कोशी, मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेश र कोशीमा धेरै पानी परेको छ ।
आज मधेश प्रदेशमा पानी पर्ने सम्भावना नभए पनि भोलि फेरि कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकासहित केही ठाउँमा राति र अहिले बिहान पनि हल्का पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको हो ।








































प्रतिकृया दिनुहोस्