विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको थियो। सुरुमा एक सय शय्याबाट सुरु भई हाल अस्पतालमा पाँच सय शय्या छन् ।
पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो ।
बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो ।
तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको आग्रहलाई चिनियाँ प्रधानमन्त्रीले स्वीकार गर्नु भई नेपालमा चीनको सहयोगमा एसियाकै नमूना अस्पताल बनाउने अभियान सुरु भयो ।
टेकप्रसाद गुरुङले भन्नुभयो, “गिरिजाबाबुलाई गणेशमान जीहरुले धुलिखेलमा क्यान्सर अस्पताल स्थापना गर्न सुझाव दिनुभएको रहेछ ।” नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने भन्ने सुनेपछि दलबलसहित प्रधानमन्त्री कोइरालालाई भेट्न गुरुङको टोली पुगेको थियो ।
सुरुमा धुलिखेलको कुरा कोइरालाले गरेपछि गुरुङको समूहले चितवनमा गर्नुपर्ने र जग्गा व्यवस्थापन गर्न सकिने भनेपछि कोइराला सकारात्मक हुनु भई चितवनको भरतपुरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भयो।
भरतपुरमा बागवानी फार्मको ७५ बिगाहा १० कट्ठा जग्गा रामपुर कृषि क्याम्पसलाई दिइएको थियो । त्यही जग्गा मन्त्रिपरिषद्ले निर्णय उल्ट्याएर क्यान्सर अस्पताललाई दिएको गुरुङले बताउनु भयो।
क्यान्सर अस्पतालले चितवनका मात्रै होइन, देशभरि र भारत, भूटान, म्यान्मासम्मका बिरामीलाई उपचार सेवा दिँदै आएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपाने नेपालमै क्यान्सरको उत्कृष्ट उपचारको केन्द्र रहेको बताउनुहुन्छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न क्यान्सर अस्पतालको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ ।
अस्पतालको सञ्चालक समितिमा रहेर सात वर्ष काम गरेको भन्दै उहाँले यहाँ नेपाल र छिमेकी देशबाट बिरामी आउने गरेको बताउनुभयो ।अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुहुन्छ ।
अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् ।यो सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा एक लाख ६६ हजार २०० रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा एक लाख ७४ हजार ९३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा एक लाख ३१ हजार ३०५ रहेको थियो ।
उहाँका अनुसार सोही अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये नयाँ क्यान्सरका बिरामीको समेत सङ्ख्या बढ्दो रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा छ हजार ७९५ नयाँ क्यान्सरका बिरामी पहिचान भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या छ हजार ४८० रहेको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या छ हजार ५३५ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या दुई हजार ९७९ रहेको थियो ।
अस्पतालमा बोनम्यारो प्रत्यारोपण बाहेकका सबै खालका क्यान्सरको उपचार हुँदै आएको र बोनम्यारो प्रत्यारोपण युनिट पनि चिनियाँ सरकारको सहयोगमा बन्ने क्रममा रहेको छ ।








































प्रतिकृया दिनुहोस्