मनपरी तरिकाबाट भाडा असुल्ने सवारी साधनहरुलाई पृथ्वी राजमार्गमा कडाइका साथ राजमार्ग प्रहरीले समेत अनुगमन सुरु गरेको छ ।
धादिङबाट काठमाडौँ जान लागेको ग्रामीण यातायात धाङरको बा ५ ख ५७ नम्बरको मिनिवसलाई यात्रुहरूलाई टिकट नदिएको र भाडा दर गाडीमा नटासेको कसुरमा उपभोक्ता संरक्षण ऐनबमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिनुभयो ।
धादिङ-काठमाडौँ रुटमा चल्ने एक र काठमाडौँ चितवन रुटमा चल्ने एक सवारी साधनलाइ १० हजार र २० हजारका दरले जरिवाना गरिएको छ साथै काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्बर को बसलाई तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमता भन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।
सवारीसाधनहरूले यात्रुहरूबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । बढी भाडा लिएमा तत्काल प्रहरी र प्रशासनमा खबर गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ ।








































प्रतिकृया दिनुहोस्