चितवन । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृह मन्त्री एबं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई वयानका लागि चितवन ल्याईएको छ ।
उहाँलाई काठमाडौंबाट आज विहान चितवन ल्याईएको हो । बुद्ध एयरको आजको पहिलो जहाज मार्फत लामिछानेलाई चितवन ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । लामिछानेको बयान आजैबाट सरकारी वकिल कार्यालयमा थालिने मिश्रले जानकारी दिनुभयो ।
सहकारीको रकम गोर्खा मिडिया नेट्वर्क प्रा लीमा अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा वचत कर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्कि प्रहरीले पक्राउ गरेको थियो । चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन ल्याईएको हो । यस सहकारीबाट रु ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक मिश्रका अनुसार हिनामिना भएको रकम मध्ये रु १० करोड ८० लाख गोर्खा मिडिया नेट्वर्कमा गएको देखिन्छ ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।
चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।मंसिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो ।








































प्रतिकृया दिनुहोस्