आउँदो वैशाखमा आयोजना हुने देशव्यापी दलित गोलमेच सम्मेलनलाई सफल बनाउन दलित अभियन्ताहरूको केन्द्रीय सचिवालयको बैठक काठमाडौंमा सम्पन्न भएको छ। अभियानका संयोजक डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको अवधारणा पत्रलाई आवश्यक परिमार्जन गर्दै पारित गरेको छ। बैठकले सम्मेलनको तयारीलाई सशक्त बनाउन विभिन्न उपसमितिहरू गठन गर्नुका साथै जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
सम्मेलनको प्रभावकारी व्यवस्थापनका लागि संयोजक डा. निर्मल विश्वकर्मासहित प्रचार-प्रसार, आर्थिक व्यवस्थापन, कानुनी परामर्श, महिला तथा युवा परिचालन र संघसंस्था समन्वयको जिम्मेवारी तोकिएको छ। बैठकले सम्मेलनलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत सफल बनाउन विदेशस्थित समन्वय प्रमुखहरूको पनि चयन गरेको छ।
देश-विदेशका सहभागितालाई सहज बनाउन क्यानडा, वेलायत, कुवेत, मलेसिया, ओमन र दुबईमा समन्वय प्रमुख नियुक्त गरिएको छ। अन्य देशहरूसँग पनि थप सम्पर्क विस्तार गर्ने योजना रहेको बैठकले जनाएको छ।
बैठकले आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन अग्नि शिखाको संयोजकत्वमा आर्थिक समिति गठन गर्दै सम्मेलनसँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत गर्नुपर्ने निर्णय गरेको छ। आर्थिक पारदर्शिता कायम राख्न डा. निर्मल विश्वकर्मा र राजेश नेपालीको संयुक्त हस्ताक्षरमा बैंक खाता सञ्चालन गर्ने व्यवस्था गरिनेछ।
बैठकले सम्मेलनका गतिविधिहरूको प्रचार-प्रसार गर्न चाँडै पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गर्दै सम्मेलनलाई ऐतिहासिक बनाउन सबै क्षेत्रसँग सहकार्य गर्न आह्वान गरेको छ।








































प्रतिकृया दिनुहोस्