प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ ।नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो ।प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतसमक्ष थप तीनवटा हवाइ रुट उपलब्ध गराउन माग गर्नुभयो ।भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताउँदै उहाँले, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको हवाइ रुट उपलब्ध गराउन आग्रह गरेको उल्लेख गर्नुभयो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताउनुभयो ।दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको भन्दै भारत र नेपालबीचको मित्रता तथा नागरिक सम्बन्धको उदाहरण विश्वमै कहीँ देख्न नपाइने उहाँको भनाइ थियो ।मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने भन्दै भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको जानकारी दिनुभयो ।नेपालमा बढी भएको विद्युत् भारतीय बजारमा आउँदा आफुलाई खुसी लागेको उहाँको भनाइ थियो ।
यसैबीच नेपाल र भारतबीच चार वटा सम्झौता भएका छन् । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि भएको दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलमा चार वटा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएका हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका चार वटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । दुई प्रधानमन्त्रीले हैदरबाद हाउसबाट भर्चुअल रूपमा परियोजनाको उद्घाटन गर्नुभएको हो । उहाँहरूले जनकपुर–जयनगरको ३५ किलोमिटर रेल सेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका एक सय ३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन सेवा उद्घाटन गर्नुभएको हो ।








































प्रतिकृया दिनुहोस्