प्रतिनिधि सभामा दुई तिहाइ बहुमतनजिक रहेको केपी ओली नेतृत्वको सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने स्थिति देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारले राष्ट्रियसभामा बहुमत गुमाउने देखिएको हो ।
पार्टी केन्द्रीय समितिको बैठकले सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै कार्यकारिणी समितिको वैठकले बुधवार नै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दियो ।
बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यहरूमा पूर्णतः असफल रहेकाले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न जसपा नेपाल सङ्घीय संसदीय दललाई निर्देश गर्दछ ।’
जसपा नेपालले ओली सरकारलाई समर्थन गरेको भए पनि सरकारमा भने सहभागी छैन । उसँग प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सांसद छन् ।
उनले भने, ‘कार्यकारिणी समितिको बैठकले संसदीय दललाई निर्देशन दिएको हो । अब संसदीय दलको बैठक बसेर निर्णय गर्छ । अहिलेसम्म भएको छैन । चाँडै गर्छौं । हामीले भनिसक्यौँ यो सरकारलाई हाम्रो समर्थन अब छैन ।’
सरकार गठन हुँदाको वाचा एक वर्षसम्म पनि केही पूरा गर्न नसकेको आरोप यादवले लगाए ।
उनले थपे, ‘सरकारले एक वर्षअघि सुशासन दिन्छौँ, संविधान संशोधन गर्छौ, अर्थतन्त्रमा सुधार ल्याउँछौँ, भ्रष्टाचार नियन्त्रण गर्छौँ भनेर प्रतिवद्धता जनाएको थियो, तर अहिलेसम्म केही गर्न सकेन । भएको संविधान समेत कार्यान्वयन भएको छैन । त्यसैले हामी अब समर्थन दिन नसक्ने निष्कर्षमा पुगेका हौँ ।’
दुई ठुला पार्टी मिलेर बनेको सरकारले मुलुकलाई गति दिन नसकेको, जनतालाई डेलिभरी दिन नसकेको अध्यक्ष यादवको बुझाइ छ ।








































प्रतिकृया दिनुहोस्