आन्तरिक विवाद बढिरहेका बेला नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तीन तहका बैठक बोलाएको छ । नेकपा एसले लगातार बस्नेगरी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टी महासचिव घनश्याम भुसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ८ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा बस्नेछ।
त्यसअघि ४ भदाैमा स्थायी कमिटी र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ । सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् ।
पतञ्जली जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा संकट छ। मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो ।
यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता झलनाथ खनाल र नेपालबीच कडा टकराव चलिरहेको छ ।
बाहिर र पार्टीभित्र पनि चर्काे दबाबमा रहेका अध्यक्ष नेपाल पछिल्लाे समय माओवादीसँग पार्टी एकता गर्ने पक्षमा छन् भने सम्मानित नेता खनाल, महासचिव भुसाल, नेतृ झाँक्रीलगायतका अर्काे ठूलाे पंक्ति त्यसमा तयार छैन।
यस्ताे अवस्थामा बस्न लागेका नेकपा एसकाे बैठकलाई चासाेका साथ हेरिएकाे छ।








































प्रतिकृया दिनुहोस्