नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्व बदल्नुपर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाब्लांका र नेपाल समाज एसोसिएसन कोष्टाब्लांकाद्वारा संयुक्त रूपमा आयोजित भेटघाटमा घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए।
“मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ”‚ उनले भने‚ “अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशको हरेक क्षेत्रमा उज्यालो हुनुपर्यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए।”
उनले आफू प्राधिकरणमा आउँदा कुल विद्युत् उत्पादन ८०० मेगावाट रहेकोमा अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको बताए। अहिले रु. २५ अर्ब वार्षिक महसुल उठाइरहेको जानकारी दिए।
“अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन्। अँध्यारो हटाएर, आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु पर्छ भन्ने सङ्कल्पका साथ अघि बढेको छु। म खाडी मुलुकहरू, अमेरिका, बेलायत, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा हुँदै स्पेन आइपुगेको छु। यो भ्रमणबाट मैले धेरै बुझ्ने सिक्ने मौका पाएँ”‚ उनले भने।
आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले छिटो भन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौँ ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए। “५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नुपर्छ,” उनले भने।
कार्यक्रमका अध्यक्ष केशरबहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए। उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुख दुखमा सधैँ हातेमालो गर्दै आएको बताए। महाभूकम्पमा रकम सङ्कलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे।
कार्यक्रममा विपीनकुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए। उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो।








































प्रतिकृया दिनुहोस्