सत्ता गठबन्धनभन्दा बाहिर चुनावी तालमेल गर्नु नैतिकताले नदिने जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न मंगबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा स्थानीय औचित्य र आवश्यकताका आधारमा स्थानीय स्तरमा जिल्ला र प्रदेशले तालमेल गर्न सक्ने उनले बताए ।
स्थानीय तहको निर्वाचनका लागि केन्द्रको मुख ताकेर नबस्न उनले आग्रह गरे । छ वटा महानगर र ११ वटा उपमहानगरको हकमा केन्द्रले टुंग्याउने नगर र गाउँपालिकाको गठबन्धन स्थानीय आवश्यकता र औचित्य हेरी जिल्लाले टुंग्याउने भन्ने सैद्धान्तिक सहमति भएकाले केन्द्रको मुख नताक्ने उनले सुझाव दिए ।
‘केन्द्रको किन मुख ताक्ने भन्या ?’ उनले भने, ‘आफ्नो तयारी जतिसके छिटो गर्नुपर्छ । स्थानीय तह त विकास निर्माणसँग बढि जोडिएको हुन्छ । त्यसैले गठबन्धन गर्नैपर्छ भन्ने पनि छैन । आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ । सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ । सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन । गयो भने राजनीतिक नैतिकता रहन्न । गर्नै हुन्न भन्ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन ।’
महानगरपालिकाको गठबन्धन गर्ने विषय मिलेको राम्रो सन्देश जाने भन्दै उनले नमिले पनि केही फरक नपर्ने उनको भनाइ छ । ‘महानगरको गठबन्धन मिल्न सकेको भए उपमहानगर, नगर र गाउँपालिकामा पनि सकारात्मक सन्देश जान्थ्यो, गठबन्धन गर्न पनि सजिलो हुन्थ्यो’, उनले भने, ‘भए ठिकै हुन्छ । भएनछ भने पनि ठिकै छ । नगर र गाउँपालिकामा स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन दलभित्रै जो जससित मिल्न सक्छ, उसैसित मिलेर जाँदा हुन्छ ।’
सत्ता गठबन्धनका दलहरु बीच महानगर र उपमहानगरको भागवण्डा करिब टुङ्गिएको बताउँदै उनले पोखरा एकिकृत समाजवादीलाई दिँदा कांग्रेसका कार्यकर्ताले बिरोध गरेकाले महानगरको अन्तिम निर्णय आउन बाँकी रहेको बताए ।








































प्रतिकृया दिनुहोस्