भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले छोरीहरुका लागि १५ वर्षे जीवन विमा र ७ हजार लिटर पानी नि:शुल्क उपलब्ध गराउने निर्णय गर्दै पदभार ग्रहण गर्नुभएको छ । महानगरभित्र यहि जेठ ११ देखि जन्मने छोरीहरुको जीवन विमा गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । महानगरले विमाका लागि हरेक छोरीका लागि १५ वर्षसम्म ४९ हजार ५ सय रुपैया प्रमियम तिरीदिने भएको छ ।
वर्षेनी ३ हजार ३ सय रुपैयाँ महानगरकै कोषबाट तिरिदिने भएको हो । १५ वर्षपछि छोरीहरुले १ लाख पाउनेछन् । पहिलो वर्ष १ हजार ७ सय ५० जना छोरीहरुको विमा गर्ने लक्ष्य लिइएको आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार १५ वर्षको अवधिमा २६ हजार २ सय ५० जना छोरीहरु लाभान्वित हुने प्रक्षेपण गरिएको छ ।
सरकारी स्वास्थ संस्थामा जन्मेका महानगरभित्रका छोरीहरुको मात्रै जीवन विमा गरिदिन लागेको हो । यस्तै महानगरभित्रका उपभोक्तालाई मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्नेलाई शुल्क तिर्नुनपर्ने व्यवस्था मिलाएको छ । सो शुल्क महानगरलनै तिरिदिने छ । यो निर्णयबाट खानेपानीका ५२ प्रतिशत उपभोक्ता लाभान्वित हुने अनुमान गरिएको छ ।
७ हजार लिटर बढी पानी खपत गर्ने उपभोक्ताले भने सबै शुल्क तिर्नुपर्ने छ । महानगरले खानेपानी शुल्कमा वार्षिक २ करोड ५० लाख बराबरको महसुल भुक्तानी गरिदिने लक्ष्य लिएको छ । मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालीन महत्त्वका ठुला पूर्वाधारहरु पुरा गर्न प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ । महानगरलाई देशकै नमुना विकासको महानगर बनाउन लागिपर्ने बताउनुभएको छ ।








































प्रतिकृया दिनुहोस्