जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ दल खोल्ने भएका छन्। उनले एक दुई दिनभित्र नै नयाँ दल दर्ता गर्ने तयारी गरेका छन्।
बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। अध्यक्ष उपेन्द्र यादवसँगको समझदारीमा नै भट्टराई पार्टीबाट अलग हुन लागेका हुन्। यादव र भट्टराईबीच मध्यराति भएको समझदारीमा दुवैजना अलग अलग हुने सहमति बनेको हो।
उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले बताए।
जसअनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र यादव पक्षसँगै हुनेछ। पछिल्लो समय बाबुरामले पार्टीमा आफ्नो पक्षको बहुमत रहेको दाबी गर्दै आएका छन्।यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ।








































प्रतिकृया दिनुहोस्