नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदाे प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा शनिवार पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो ।
गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको भट्टराईको भनाइ छ । गठबन्धन दलमात्रै नभइ गोरखा–२ मा आफू सबै पार्टीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो । आउँदाे चुनावमा विजयी भएमा गोरखालाई विकासको मोडलको रूपमा अघि बढाउने पनि आफ्नो चाहना रहेको भट्टराइको भनाइ छ ।
नेपाल समाजवादी पार्टी गोरखाले पनि भट्टराईलाई याे क्षेत्रबाट सर्वसम्मत उम्मेदवारकाे रूपमा सिफारिस गर्ने तयारी गरेको छ । सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवार बन्न चाहनेहरूको नाम शनिवार सङ्कलन गरेको थियो । जसमा निर्वाचन क्षेत्र नम्बर २ बाट भट्टराईको मात्रै दाबी परेको छ ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा पनि भट्टराई यही क्षेत्रबाट विजयी हुनुभएको थियो । उहाँले नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतान्तरले पराजित गर्नुभएको थियो । वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार नाै सय ३३ मत ल्याउँदा नेपाली कांग्रेसको समेत समर्थनमा उम्मेदवार बन्नुभएका भट्टराईले ३१ हजार आठ सय सात मत ल्याउनुभएको थियो । यो पटक भने भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा जाने सहमति गरिसकेको छ । माओवादी केन्द्रले नेता श्रेष्ठलाई पनि यही क्षेत्रबाट उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।
कुराकानीकै क्रममा भट्टराईले नेकपा माओवादीसँग पार्टी एकता गर्नेसम्मको छलफल भइ नसकेको बताउनुभयो । आउँदाे चुनाव लगत्तै सैद्धान्तिक र राजनीतिक विषयमा छलफल हुने र सम्भव भए बृहत् समाजवादी अभियान सुरु गर्ने आफ्नो सोचाइ रहेको उहाँको भनाइ छ ।
अर्को प्रसङ्गमा उहाँले चोलेन्द्रशम्शेर राणाले महाअभियोग सुनुवाइ समितिमा दिएको कतिपय बयान तथ्यमा आधारित नभएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरणमा आफ्नो समेत संलग्नता रहेको भनेर राणाले दिएको अभिव्यक्ति झुटो भएको उहाँको दाबी छ । यद्यपप चोलेन्द्र प्रकरणले राज्यका संयन्त्रहरूमा निकै भ्रष्टाचार छ भन्ने तथ्य भने उजागर गरेको भट्टराईले बताउनुभयो ।








































प्रतिकृया दिनुहोस्