ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ ।
महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन् । हाललाई एक सय ५० थान झुल हस्तान्तरण गरेको शाक्यले बताए ।
समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगु संक्रमितलाई झुल दिएको बताए । उनले भने ‘संक्रमितलाई टोकेको लामखुट्टेले अन्य बिरामीलाई टोकेर डेंगु नसारोस् भनेर झुल दिएका हौं । महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको छ । हामीले अक्सिजन प्लान्ट जडानका लागि पनि सहयोग गरेको थियौं ।’
ललितपुर महानगरका प्रवक्ता समेत रहेका महर्जनले अस्पताललाई थप सहयोग गर्न प्रक्रिया पनि थालेको जानकारी दिए । उनले पाटन अस्पतालमा ७७ वटै जिल्लाबाट उपचार गर्न आउने भएकाले यो अस्पताल सहयोगका लागि प्राथमिकतामा परेको बताए ।पाटन अस्पतालका अनुसार केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको छन् ।








































प्रतिकृया दिनुहोस्