दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ ।भारत र चीनको सीमा क्षेत्रमा झडप भएको हो ।चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । भारतीय सञ्चार माध्यमहरूमा सो समाचारलाई प्रकाशित गरेका छन्। ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ। भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ। यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो। उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ। पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए। त्यसअघि सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा करिब दुई दर्जन भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको जनाइएको थियो। त्यसअघि भुटान नजिकैको विवादित सीमा क्षेत्र दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण युद्ध भएको थियो। उक्त युद्धपछि दुई देशका सैनिकले एकले अर्काविरुद्ध हतियार नचलाऔने सहमति भए बमोजिम युद्ध भने भएको छैन।सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक—पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन। हतियारबन्द युद्ध नभए पनि दुई देशबीच तनाव भने निरन्तर दोहोरिँदै आएको छ ।








































प्रतिकृया दिनुहोस्