पुल्चोकको कैलाश आयल पेट्रोप पम्प नजिकैबाट सडक सीमा मिचेर बनाइएका संरचना भत्काउन थालिएको छ। शुक्रबार बिहान झण्डै ८ बजेतिर नारायणगढको पूल्चोकमा सडक डिभिजन कार्यालय भरतपुरको डोजरसहितका सुरक्षाकर्मीको बिच संरचना भत्काउन सुरू गरिएको थियो। केहीबेर स्थानीय घरधनी र व्यापारीहरुले त्यसलाई अवरोध गर्न खोजे । तर, पटकपटकको सूचनालाई घरधनीहरुले वेवास्ता गरेको भन्दैं सडक डिभिजनको टोली रोकिएन । नारायणगढ गोन्द्राङ्ग सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सीमा क्लियर गरिदिन दबाब दिएको थियो।डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दबाब दिएको थियो।यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए। नारायणगढ बजार क्षेत्रका घरहरु भत्काएकोमा घरधनी तथा व्यवसायीहरुले आपत्ति जनाएका छन् । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले घरहरुको पेटी भत्काउने सहमति भए पनि घर नै भत्काउने काम गरेर सडक डिभिजनले जनताको सम्पत्तिमा क्षति गरेको बताए। उनले यसले बजार क्षेत्रमा ठूलो क्षति गर्ने र बजारलाई कुरुप बनाउने काम गरेको गुनासो गरे । नारायणगढका घरधनी दिनेश चुकेले भरतपुर महानगरपालिकाले नक्सापास गरेर दिएको जग्गा बनेका घर भत्काउने काम डिभिजनले गरेको भन्दै आपत्ति जनाए । ‘सार्वजनिक वा सडकको जग्गामा बनेको थियो भने किन भरतपुर महानगरपालिकाले नक्सापास गरेर घर सम्पन्नको कागजपत्र दियो त ?’ व्यवसायी चुकेले भने, ‘अनि महानगरले घर सम्पन्नको प्रमाणपत्र दिएको ठाँउमा सडकको जग्गा भयो भने भत्काउन मिल्दैन ।’ उनले घरधनी, व्यापारीसमेतको उपस्थितिमा सडकको नापजाँच गरेर मात्रै घर भत्काउनुपर्ने बताए । ‘हामीले घर नाप्दा २५ मिटरभन्दा पर नै बनाएको देखेका छौं, सडक डिभिजनले २५ मिटर भित्र बनेको भन्छ,’ चुकेले भने, ‘सँगसँगै बसेर सल्लाहले नापजाँच गरे हुन्न ?’ उनले सडक डिभिजनले घर भत्काएको विषयमा आफूहरु अदालत जाने बताए ।








































प्रतिकृया दिनुहोस्