स्ववियु निर्वाचन लगतै दुवै संगठनबीच एकता गर्ने तयारीसहित माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ।अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच सोमबार काठमाडौंमा तीन बुँदे सहमति भएको हो । दुवै संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन्। त्रिभुवन विश्वविद्यालयसहित मुलुकका विभिन्न विश्वविद्यालयमा आगामी चैत महिनाको पहिलो साता स्ववियु निर्वाचन हुँदैछ । चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन हुँदैछ। स्ववियु निर्वाचनमा दुवै संगठनले एउटै प्यानल बनाउने सहमति भएको छ । समानुपातिक बन्दसूची पनि एउटै बुझाउने सहमतिपत्रमा उल्लेख छ । संगठनहरूबीच एकताका लागि कार्यदल पनि गठन गरिएको छ । कार्यदलमा क्रान्तिकारीका महासचिव दपेश पुन र समाजवादी विद्यार्थी युनियनका महासचिव टंक धमला रहेका छन् ।








































प्रतिकृया दिनुहोस्