नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल गरेको छ।
मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गर्दै विज्ञप्ति जारी गरेको हो।
नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) का हरिकृष्ण गजुरेल, विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा जारी हस्ताक्षरित विज्ञप्तिमा कलेज प्रशासको दुव्र्यवहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कबिरुद्ध चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासनबिच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेड तर्फ अघि बढेको थियो। लामो समयसम्म विद्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर के.एम.सी प्रशासनमा दुई दिनदेखि ताला लगाएको छ।
माग पूरा गर्न उदासिनता देखिएको भन्दै सोमबार विद्यार्थीहरुले नोबेल प्रशासनबिरुद्ध गरेको सिट्टि जुलुसमा कलेज प्रशासनको हस्तक्षेपमा परि नेताहरु ताजिम अन्सारी, दिपेन्द्र मेहता, टेकेन क्षेत्रि ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा सहित १ दर्जन बढी विद्यार्थी घइते भएका छन्।








































प्रतिकृया दिनुहोस्