इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीहरुले ताला लगाएका छन्। बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर ताला लगाएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले बताए।उनले भने, ‘वास्तविक विद्यार्थीको सहभागिता बिना हिजो भएको सहमति खारेज हुनुपर्छ। इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्को सहमति गर्नुपर्छ।’ इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए।शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए।
बुधबार त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले शुल्क वृद्धि फिर्ता गर्ने र विद्यार्थी प्रतिनिधिसहितको समिति बनाएर नयाँ शुल्क निर्धारण गर्ने सहमति गरेका थिए ।
उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन्।त्यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त सहमति धोका हो भन्दै सहमति पत्र जलाएको छ।
अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाईंले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको बताएका छन्।








































प्रतिकृया दिनुहोस्