हत्यासहितको अभियोगमा अनुसन्धानमा तानिएका तपस्वी रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।
लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बमजन पक्राउ परेको पुष्टि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले गरे।
बमजन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो।
डीएसपी नेतृत्वको टोलीले निरन्तर पछ्याइरहेको सूचना बमजनकहाँ पनि पुगेको थियो। प्रहरीले पछ्याइरहेको शंका पाएपछि बमजन हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार आफूलाई पक्राउ गर्न प्रहरी पछि लागेको शंका पाएका उनी जुनसुकै बेला भाग्ने गरी तम्तयार अवस्थामा थिए।
भाग्ने तयारी अवस्थामा रहेका उनी हात्तीगौंडास्थित घरमा विगत ८ दिनदेखि बाहिर कतै ननिस्की बसेका थिए। ‘उनी विगत ८ दिनदेखि आफ्नो घरबाट बाहिर निस्किएका थिएनन्’, एआईजी बज्राचार्यले भनिन्, ‘मंगलबार पक्राउ गर्ने समयमा पनि उनी भाग्न तयम्तयार अवस्थामा देखिएका थिए।’
मंगलबार साँझ प्रहरीको टोली बमजनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो। तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए।
‘पक्राउ गर्न जब प्रहरी टोली उनको घरभित्र छिर्यो, त्यसबेला उनी तीन तलामाथिबाट हामफालेर भाग्ने तयारीमा थिए’, एआईजी बज्राचार्यले नेपालखबरलाई भनिन्, ‘उनी भाग्न सक्ने अनुमानसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो। त्यहीकारण उनी यस पटक प्रहरीलाई छल्न असफल भए।’
बलात्कारसहित बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बमजनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्।
पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई प्रहरीले फेला पार्न सकेको थिएन।
बमजनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।








































प्रतिकृया दिनुहोस्