चैत्र २१, २०७८
१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए । ‘मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ,’ उनले भने, ‘राष्ट्रिय खोप सल्लाहकार समितिले करिब दुई वर्षअघि नै टाइफाइडविरुद्घको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।’ विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले ६ वर्षअघि नै टाइफाइड देखिने मुलुकलाई नियमित खोप कार्यक्रममा यसलाई समावेश गर्न आग्रह गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका मुलुकभरमा ७४ लाख १५ हजार १ सय ६३ जना छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १७ लाख ८७ हजार ८ सय ६५ जना र सबैभन्दा कम कर्णालीमा ५ लाख ३ हजार ९ सय ९५ जना छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा बर्सेनि करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् ।








































प्रतिकृया दिनुहोस्