लैलाेतुल क़द्रको महत्त्व
इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने रातहरूमध्ये लैलाेतुल क़द्र (शक्ति रात) अत्यन्तै पवित्र मानिन्छ। मुस्लिम समुदायका विश्वास अनुसार यो रातमा अल्लाहले पवित्र कुरआन धरतीमा अवतरण गराउनु भएकाे थियो। यस रातलाई हजार महिनाभन्दा उत्तम मानिन्छ, जसका कारण यो विशेष इबादत (उपासना) गर्ने समयका रूपमा लिइन्छ।
इस्लामिक ग्रन्थ कुरआनका अनुसार, लैलाेतुल क़द्र रातमा गरिएका इबादतहरू हजार महिनासम्म गरिएका इबादत बराबरको पुण्य दिलाउने विश्वास गरिन्छ। यो रात रमज़ान महिनाको अन्तिम दश रातहरूमध्ये विशेष पाँच बिजोर रातहरू (२१, २३, २५, २७ र २९ औं रात) मध्ये कुनै एकमा पर्ने बताइन्छ।
धार्मिक दृष्टिले, लैलाेतुल क़द्रमा अल्लाहका दूतहरू (फरिश्ताहरू) पृथ्वीमा झर्छन् र अल्लाहबाट विशेष कृपा र शान्ति प्राप्त हुने विश्वास गरिन्छ। इस्लाम धर्ममा यो रातलाई गुनाह माफी (पाप क्षमा) गरिने रातका रूपमा पनि लिइन्छ। हदीस अनुसार, जो व्यक्ति ईमानसहित इबादत गर्दछ, उसका विगतका सम्पूर्ण गुनाहहरू माफ गरिन्छ।
यस विशेष रातमा मुस्लिम समुदाय मस्जिदहरूमा गई नमाज, कुरआन पाठ, जिकिर (अल्लाहको स्मरण), र तौबा (पश्चात्ताप) जस्ता धार्मिक क्रियाकलापहरूमा संलग्न हुने गर्दछन्। नेपाल लगायत विश्वभरका मुस्लिम समुदायले यस रातलाई अत्यन्तै श्रद्धा र भक्ति भावका साथ मनाउने गरेका छन्।








































प्रतिकृया दिनुहोस्