२०२५ सालको जून ५ गते, विश्वभरि मनाइने विश्व वातावरण दिवसको अवसरमा भरतपुर–११ स्थित श्री नयाँकिरण कमल कुसुम माध्यमिक विद्यालयले आयोजना गरेको जलवायु परिवर्तन सचेतना कार्यक्रम धूमधामका साथ सम्पन्न भएको छ। यस वर्षको विश्व वातावरण दिवसको मुख्य विषयवस्तु “Beat Plastic Pollution” अर्थात् प्लास्टिक प्रदूषणलाई नियन्त्रण र न्यूनीकरण गर्ने अभियान रहेको छ, जसले विश्वव्यापी रुपमा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ।
कार्यक्रमको उद्देश्य प्लास्टिकको दुरुपयोगबाट उत्पन्न हुने प्रदूषण र त्यसले जलवायु परिवर्तनमा पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरूमा जागरूकता फैलाउनु र उनीहरूलाई पर्यावरण संरक्षणका लागि जिम्मेवार बनाउनु थियो। यसका साथै प्लास्टिक न्यूनीकरण तथा वैकल्पिक उपायहरूबारे जानकारी गराउँदै युवाहरुलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरियो।
कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी गराइयो र उनीहरूले आफ्ना विचार व्यक्त गर्दै वातावरणीय मुद्दामा जागरूकताको आवश्यकता दर्शाए। विद्यार्थीहरूले कार्यक्रममा उत्साहका साथ भाग लिएका थिए र कार्यक्रम सञ्चालनमा अमित बाबु तिवारीले भूमिका निर्वाह गर्नुभएको थियो भने प्राविधिक सहयोग अस्मिता तिवारी र किरण बानियाँले प्रदान गर्नुभएको थियो।
कार्यक्रमका मुख्य वक्ता सपना भट्टराई, जो Unleash Hack विजेता, वर्मीकम्पोस्टिङ प्रशिक्षक, बायोडाइभर्सिटी तथा वातावरण व्यवस्थापनमा स्नातकोत्तर गरिसक्नुभएको छ र एक सक्रिय जलवायु अभियन्ता समेत हुनुहुन्छ,ले प्लास्टिक प्रदूषणका विभिन्न आयाम र जलवायु परिवर्तनसँग यसको गहिरो सम्बन्धलाई वैज्ञानिक दृष्टिले विश्लेषण गर्नुभयो। उहाँले युवाहरुलाई प्लास्टिकको प्रयोग घटाएर वातावरण संरक्षणमा सशक्त भुमिका खेल्न प्रेरित गर्नुभयो र वर्मीकम्पोस्टिङ जस्ता वातावरणमैत्री प्रविधिहरू अपनाउन सुझाव दिनुभयो।
विद्यालयका उपप्रधानाध्यापक कुस्मखर न्यौपानेले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभएको थियो र विद्यार्थी तथा शिक्षकहरूलाई प्रोत्साहन गर्नुभएको थियो। उहाँले विद्यालयले वातावरण संरक्षणमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुका साथै यस प्रकारका कार्यक्रमहरू भविष्यमा पनि सञ्चालन गर्ने इच्छा व्यक्त गर्नुभयो।
कार्यक्रमको औपचारिक समापन विद्यालयका प्रधानाध्यापक श्री रामेश्वर अधिकारीले गर्नुभएको थियो। उहाँले विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई वातावरण संरक्षणमा लाग्न आव्हान गर्नुभयो र यस किसिमका कार्यक्रमहरूले भविष्यका पुस्तामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
विद्यालयका शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रमले न केवल प्लास्टिक प्रदूषण र जलवायु परिवर्तन विषयक ज्ञान बढाएको छ, तर वातावरणीय संकटहरूको सामना गर्न सबैलाई जागरूक र जिम्मेवार बनाउने दिशामा महत्वपूर्ण कदम सावित भएको आयोजकहरूले उल्लेख गरेका छन्।








































प्रतिकृया दिनुहोस्