भरतपुर महानगर–१० को वीरेन्द्र क्याम्पसरोड नमुना टोलको मुख्य सडकमा अबदेखि दिनभर ट्रक, ट्रिपरहरु गुड्न नपाउने भएका छन् ।
वीरेन्द्र क्याम्पसचोकदेखि विशालचोकसम्मको सडकखण्डमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म हेभि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।साँघुरो सडक भएकाले ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो ।
टोल विकास संस्था र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्डमा आज ट्रक ट्रिपर प्रवेश निषेध र नो पार्किङका वोर्डहरु राखेको छ । करिब १ किमि सडकखण्डभित्र अब एकतर्फि पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
टोल विकास संस्थाका अध्यक्ष शेषराज सापकोटाले १२ मिटर चौडाईको सडकमा ठुला सवारी आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेकाले ट्राफिक व्यवस्थापनको काम गरिएको बताउनुभयो ।वाइपासतर्फको विशालचोक र पूर्वपश्चिम राजमार्ग अन्र्तगतको वीरेन्द्र क्याम्पस चोकबाट अब ठुला सवारीहरु वीरेन्द्र क्याम्पस रोडमा प्रवेश गर्न पाउनेछैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले चहलपहल बढी हुने भित्रि सडकहरुमा समेत ट्राफिक व्यवस्थापनको काम गर्ने काम सुरु गरिएको बताउनुभयो ।
यसअघि हाकिमचोक, बेलचोक, न्यूरोड, मिलनरोड, प्रगतीपथ, अस्पताल रोड क्षेत्रमा नो पार्किङ एरिया निर्धारण गरिसकिएको छ ।








































प्रतिकृया दिनुहोस्