नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गर्नुभएकाे छ ।
तीन दिने भारत भ्रमण गरेर आज आइतवार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीसँग भेट भएको बताउनु भयो । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको उहाँले सुनाउनुभयाे । उहाँले भन्नुभयाे, अपेक्षाअनुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरूमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा कुनै फरक लागेन ।
अध्यक्ष दाहालले भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको जानकारी दिनुभयाे । अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलियतमा दिनेबारेमा पनि चर्चा भएको उहाँले बताउनुभयो । भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको अध्यक्ष दाहालकाे दाबी छ ।
यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको उहाँकाे भनाइ छ ।
अध्यक्ष दाहाललाई स्वागत गर्न विमानस्थलमा ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरू पुगेका थिए ।








































प्रतिकृया दिनुहोस्