चितवन १२ साउन –
नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा आफ्नो दाबी रहने बताएका छन् ।
चितवनको राप्ती भण्डारास्थित आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उपाध्यक्ष पाण्डेले संघीय निर्वाचनमा यस क्षेत्रबाट उमेदवारी दिने बताएका हुन् । उनी यसअघि दुई पटक चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित भइसकेका छन् । आफ्नो दाबीलाई उनले स्वाभाविक रहेको प्रतिक्रिया दिए ।
पाण्डेले भने, ‘म यसै क्षेत्रको जनप्रतिनिधि हुँ, पार्टीको उपाध्यक्ष पनि हुँ । फेरि निर्वाचन लड्ने कुरा स्वाभाविक हो, अन्यथा लिन आवश्यक छैन ।’
पटक पटक एउटै नेता निर्वाचनमा उठ्दा कस्तो सन्देश जाला ? भन्ने प्रश्नमा नेता पाण्डेले चुनाव लड्न खोजेको भनेर गलत प्रचार गरिएको प्रतिक्रिया दिए । समकालीन नेताहरु धेरै पटक निर्वाचन लडेको उल्लेख गर्दै उनले आफ्नो दाबीलाई स्वाभाविकरुपमा लिन आग्रह गरे ।
आफ्नो दुई कार्यकालमा एक नम्बर क्षेत्रमा विकासको गतिले फड्को मारेको उनको दाबी थियो । ‘अहिले जताततै कालोपत्रे सडक छन्, आवश्यकताका आधारमा खानेपानी आयोजना सञ्चालित छन्, पुलहरु बनेका छन्’, नेता पाण्डेले थपे, ‘यी सबै कामको मूल्यांकन हुनेछ भन्ने विश्वस्त छु ।’
फरक प्रसङ्गमा नेता पाण्डेले प्रदेश र संघको निर्वाचना वाम पार्टीबीच तालमेल असम्भव नरहेको बताए । समय र आवश्यकताले तालमेल हुन्छ, पाण्डेले भने, छुट्नु र जुट्नु राजनीतिमा सामान्य प्रक्रिया हो, हामी एकतावद्ध भएर चुनावमा जान सक्ने सम्भावना पनि रहन्छ ।








































प्रतिकृया दिनुहोस्