चितवनका किसानले भारतबाट अवैध रुपमा भित्रिएका माछा नष्ट गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन, क्वारेन्टाइन चेकपोष्ट रामनगर, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आज(मंगलबार) दुई टन माछा नष्ट गरेका हुन् ।
भातबाट भन्सार छलेर माछा भित्रन थालेपछि चितवनका किसानले माछा रोक्नको लागि अभियान नै चलाएका छन् । यसअघि हिजो(सोमबार छ सय ५० किलो माछा व्यवसायीले नष्ट गरेका थिए । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार, रुपन्देहीका एक किसानको नाममा बिल काटेर भारतबाट ल्याईएको माछा नष्ट गरिएको हो । ‘नेपाली माछाले बजार नपाएपछि अबैध रुपमा भित्रने माछा चेकजाँचलाई तिब्र बनाएका छौँ,’ सुवेदीले भने, ‘आज(मंगलबार) क्वारेन्टाइन चेकपोष्ट रामनगरमा चेकजाँच गर्दा भन्सार छलेर माछा ल्याएको पाईयो ।’ नेपाली किसानको बिल बनाएर भारतीय माछा भित्रने गरेको उनले बताए । ‘हामीले चेक गर्दा रुपन्देहीका मत्स्य किसानको बिल भेटियो । तर, हामीले रुपन्देहीका किसानलाई सोधपुछ गर्दा प्रमाण भेटिएन,’ सुवेदीले भने, ‘पछि व्यवसायीले पनि इन्डियन माछा भएको स्वीकार गर्नुभयो।’ पशु चिकित्सकले समेत भारतीय नेपाली माछा भनेर पठाएको उनले बताए । सुवेदीका अनुसार, आज पाङ्गासियस जातका एक हजार दुई सय र रघु जातका माछा आठ सय किलो माछा नष्ट गरिएको छ । व्यवसायीले लु २ च ६८५८ नम्बरको बोलेरमा ५० वटा कार्टुनमा भारतीय माछा ल्याएका थिए ।
जफल गरिएका माछा सेवन गर्न नहुने गरी कुहिँएको निष्कर्ष सहित नष्ट गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख डा दिनेश साहको अध्यक्षतामा बसेको बैठकले निष्कर्ष निकालेको छ । ‘कुँहिएको सम्पूर्ण माछालाई सतञ्चुली सामुदायिक वनमा खाल्टो खनी पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ अनुसारको विधिअनुसार नष्ट गरिएको छ’–माइनुटमा उल्लेख गरिएको छ । अवैधरूपमा नेपाल भित्र्याइएका माछा नियन्त्रणमा लिएर नष्ट गर्ने अभियानमा राज्यका निकायलाई सहयोग गरिरहेको संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए । सिन्धुली, पर्सा, चितवन लगायतका ठाउँमा भारतीय माछाको अनुमगन गरिरहेको उनले बताए ।
उनले भारतका अवैध माछाले बजार कब्जा गरेपछि नेपालमा उत्पादन भएका माछा बिक्री हुन छाडेको गुनासो गरे । नेपालमा दैनिक ६० टनको हाराहारीमा माछा खपत हुँदै आएको छ । सो उत्पादन नेपालमै हुने गरेको उनले बताए । अहिले भारतबाट अवैध रुपमा माछा भित्रदा प्रतिकिलो ५६ रुपैयाँ राजश्वसमेत गुमेको उनले बताए । नेपालमा एक लाखभन्दा बढी हेक्टर क्षेत्रफल रहेको जलासयमा माछा पालन हुँदै आएको छ । भारतबाट अवैध रुपमा माछा भित्रन थालेपछि यहाँका किसान चिन्तित छन् । चितवनका किसानले प्रतिकिलो दुई सय ५० देखि तीन सय ५० रुपैयाँ तोकेका छन् । तर, बाहिरी मुलुकबाट माछा अवैध भित्रँदा बिक्न छाडेको उनीहरुको भनाई छ । चितवनमा मात्रै बार्षिक ७ सय टनको हाराहारीमा माछा उत्पादन हुँदै आएको छ । चितवनमा २०६८सालदेखि माछाको व्यवसायीक रुपमा पालन हुँदै आएको छ । यहाँ एक हजार पाँचसयको हाराहारीमा किसान रहेको अनुमान छ । यहाँ बार्षिक १० प्रतिशतका दरले किसान बृद्धि भएका छन् । चितवनमा उत्पादन भएको ३५ प्रतिशत माछा बाहिरी जिल्लामा खपत हुने गरेको छ ।








































प्रतिकृया दिनुहोस्