सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका उमेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले उमेदवारी दिएका थिए । तर, ‘चेक बाउन्स’सम्बन्धी मुद्दाका कारण उनको उमेदवारी खारेज भयो । त्यसपछि यो क्षेत्रमा गठबन्धन उमेदवारविहीन भएको थियो ।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका गुरुङले रुपन्देही–२ मा थापालाई गठबन्धनले एकमतका साथ साझा उमेदवार स्वीकार गरेको बताए ।
नेता गुरुङले आफ्नो उमेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरिएको आरोप लगाए । आफ्नो उमेदवारी खारेज हुनु नेकपा (एमाले)को पराजित मानसिकताको पराकाष्ठा भएको उनको भनाइ छ ।
उनले आसन्न निर्वाचनमा केशवबहादुर थापालाई जिताएर एमालेको ‘दादागिरी रोक्ने’ बताए ।
सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालयजस्तो बनेको आरोप समेत उनले लगाए । उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए ।
उनले कर्जा सूचना केन्द्रको ‘ब्ल्याक लिस्ट’मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न तयार रहेको बताए ।








































प्रतिकृया दिनुहोस्