नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा शुक्रबार कैलालीमा प्रदर्शन गरेको छ। कैलालीको प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत पर्ने लम्कीमा विरोध प्रदर्शन गरेको हो।
नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई शुक्रबार जिल्ला अदालत कैलालीमा उपस्थित गराएर कैदी पुर्जी धमाउँदै कारागार चलान गरिएको छ।
विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर सांसद चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद सजाय भुक्तान गरेका थिएनन्। नागरिक उन्मुक्ति पार्टीले सुनियोजित ढंगले आफ्ना सांसदलाई फसाइएको आरोप लगाएको छ।
सांसद चौधरीलाई गिरफ्तार गरेर कारागार चलान गरेको विरोधमा नागरिक उन्मुक्तिले राँके जुलुस पनि निकालेको थियो।
लम्कीको विरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्तिका प्रवक्ता समेत रहेका दामोदर पण्डितले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सुनियोजित ढंगले सांसद चौधरीलाई पक्राउ गरिएको आरोप लगाए।








































प्रतिकृया दिनुहोस्