नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटीकाे बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराउनुभएको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँले बैठकमा अध्यक्ष ओलीले अहिलेको अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको कुरा ‘बिफ्रिङ’ गर्नुभएको पनि बताउनुभयो । उहाँले बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षले आफ्नो सुझाव, सल्लाह पेस गर्नुभएको बताउनुभयो ।
बैठकमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्का अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराउनुभएकाे पनि उपमहासचिव गुरुङले बताउनुभयो ।
उपमहासचिव गुरुङले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशीको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गर्नुभएको बताउनु भयो । अन्य प्रदेशको रिपोर्ट भने शुक्रवारको बैठकमा पेस गरिने उहाँकाे भनाइ छ ।








































प्रतिकृया दिनुहोस्