स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी ६ दलको संयुक्त मोर्चा यसै हप्ता घोषणा हुने भएको छ। प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले दुईतीन दिनभित्र मोर्चा घोषणा हुने जानकारी दिए। उनी मोर्चा गठनको वार्तामा छन्।
मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो। माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिस्ट पार्टी मोर्चा बनाउन तयार भइसकेका छन्।
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियान नेपाललाई समेत मोर्चामा समेट्ने प्रयास भइरहेको छ। शुक्रबारको छलफलमा सहमति जुटे मोर्चामा रहने दलको संख्या ६ पुग्नेछ।
संवादमा रहेका नेताहरुले तयार पारेको प्रारम्भिक मस्यौदामा सबै तयार भएपछि मोर्चा घोषणा गर्न लागिएको नेताहरु बताउँछन्।
अहिले केन्द्रमा मात्र रहनेगरी १५ बुँदे कार्यविधि र नीतिगत प्रतिबद्धता बनाइएको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए।
‘पाँच दल सहमत भइसकेका छौँ,’ उनले नेपालखबरसँग भने, मस्यौदा अध्ययनका लागि दिइएको छ।’
दलहरुले आआफ्ना बैठक राखेर छलफल गरेपछि सबैको सुझाव समेटेर मस्यौदालाई पूर्णता दिने अनि बृहत् कार्यक्रम राखेर घोषणा गरिने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
‘बढीमा पाँच गतेभित्र समाजवादी मोर्चा नेपाल घोषणा भइसक्छ,’ उनले नेपालखबरसँग भने, ‘मस्यौदा तयार भइसकेको छ, अब दलभित्र आन्तरिक छलफल गरेर फाइनल गर्छौँ।’
मोर्चामा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गौतमको राष्ट्रिय एकता अभियान चाहिँ संसदमा छैन। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीसँग एकताकै प्रयासमा छ।
मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उसले माओवादीकै चुनाव चिह्नमा लडेको हो। उसका १ सांसद छन्।
संसदमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको जसपाका १२ र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका १० सांसद छन्। सबै दल समेटिँदा मोर्चामा ५४ सांसद हुनेछन् र यो संसदको तेस्रो ठूलो शक्ति हुनेछ।








































प्रतिकृया दिनुहोस्