नारायणी कला मन्दिरको अध्यक्षमा रोहितकुमार श्रेष्ठ चयन भएका छन्। कला र संस्कृतिको लागि स्थापित चितवनकै सबैभन्दा पुरानो संस्थाको पहिचान बनाएको कला मन्दिरको आगामी दुई वर्षे कार्यकालको लागि बुधबार सम्पन्न ४८औँ साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा हाललाई १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
नयाँ कार्यसमितिले उपाध्यक्षसहितको पदाधिकारी हाल निर्वाचित कार्यसमितिभित्रैबाट पूृर्ति गरिने कला मन्दिरका निवर्तमान अध्यक्ष सुवीर श्रेष्ठले जानकारी दिए। नेपाली मौलिक लोकसंस्कृति संरक्षण गर्ने उद्देश्यले स्थापना भएको कला मन्दिरले करिब छ दशक पार गर्दैगर्दा धेरै खालका समस्या खेप्दै आएको उनले बताए। ‘कला मन्दिर यतिबेला जीर्ण अवस्थामा आइपुगको छ,’ निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘यताको भ्वाङ टाल्यो, उता फाट्छ, उताको भ्वाङ टाल्यो फेरि यता फाट्छ। त्यसैले यसलाई राज्यले आफ्नो सम्पत्ति सम्झेर संरक्षण गरिनु आवश्यक छ।’
कला मन्दिरका पूर्वअध्यक्षहरुको तर्फबाट बोल्दै पूर्वअध्यक्ष गायत्री श्रेष्ठले कला मन्दिर सार्वजनिक सम्पत्ति भएर पनि व्यक्तिगत स्वार्थमा पटकपटक आक्रमणमा परेको बताइन्। ‘बालकुमारी स्कुलले दिएको जग्गामा बसेको कला मन्दिरको जग्गालाई केही व्यक्तिहरुले व्यावसायिक स्वार्थमा आक्रमण भइरहेको घटना सुन्दा साह्रै मन दुख्छ,’ कला मन्दिर पछाडिको बाटोको विषयलाई लिएर पूर्वअध्यक्ष श्रेष्ठले भनिन्, ‘कला मन्दिर कला र संस्कृति संरक्षणको लागि उभिएको संस्था हो। कसैसँग विवाद गर्न होइन।’
उद्घाटन सत्रका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं.२ का अध्यक्ष मनोजकुमार रानाभाटले कला मन्दिरको संरक्षणमा स्थानीय सरकार जतिखेर पनि उभिने अभिव्यक्ति दिए। ‘कला मन्दिरको मर्मतसंभारको सबै जिम्मा वडा कार्यालयले लिन्छ, तपाईँहरुले चिन्ता गर्नुपर्दैन,’ उनले भने, ‘यसको नेतृत्व गर्नेहरुले कला मन्दिरको शाख जोगाइदिए पुग्छ।’
उद्घाटन सत्रमा कला मन्दिरका पूर्वअध्यक्षहरुलाई सम्मानपत्र र दोसल्लामार्फत सम्मानसमेत गरिएको थियो। साथै कला मन्दिरका कलाकार, प्रशिक्षक, कर्मचारीलगायतलाई पनि मायाको चिनो वितरण गरिएको थियो। सोही अवसरमा कला मन्दिरले प्रकाशन गर्दै आएको ‘मारुनी’को १९औँ फन्कोको समेत विमोचन गरिएको थियो।








































प्रतिकृया दिनुहोस्