नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने दाबी गरे।उनले सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरेका छन्।
संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि आफुलाई सरकारको नेतृत्व दिन आग्रह गरे।
देशमा स्थिरता, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चितताका लागि आफू सरकारमा हुनुपर्ने विप्लवले बताए। ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरु झैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने मन छ,’ उनले भने।
विप्लवले २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको बताए।सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेपनि देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको उनको दावी छ।विप्लवले माओवादी सहित सबैजसो दलका नेताहरुमा श्रम संस्कार हराउँदै गएको उल्लेख गर्दै नेपाली युवालाई विदेश पलायन गराएर समाजवादको आधार खडा गर्न नसकिने बताए।
दलाल पुँजिवाद र साम्राज्यवाद देशको मुख्य दुस्मन भएको भन्दै उनले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला भइरहेको बताए।पुँजिवादकै कारण अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको उनको तर्क छ।








































प्रतिकृया दिनुहोस्